Logo

१३ मंसिर,काठमाडौं । दाङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा सुरु भएको छ। पार्टीले शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा आयोजना गरेको थियो भने शनिबार देउखुरीमा कार्यक्रम भएको हो।

सभामा नेकपाका संयोजक पुष्पकमल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। यसका साथै वामदेव गौतम, भीम रावल, वर्षमान पुन लगायतका नेताहरू पनि उपस्थित छन्।

गत १९ कात्तिकमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एक दर्जन वाम घटकबीच पार्टी एकता घोषणा गरिएको थियो। नवगठित नेकपा यस एकताको सन्देश सातै प्रदेशमा पुर्‍याउन प्रदेशस्तरीय सभाहरू सञ्चालन गरिरहेको छ।

पार्टीले आगामी कार्यक्रमअनुसार भोलि गण्डकी प्रदेशको पोखरामा, १५ मंसिरमा कोशी प्रदेशको विराटनगरमा सभा आयोजना गर्ने योजना बनाएको छ। त्यसैगरी, १७ मंसिरमा उपत्यका विशेष प्रदेश अन्तर्गत काठमाडौं, १८ मंसिरमा कर्णाली प्रदेशको सुर्खेत, १९ मंसिरमा संघीय समन्वय प्रदेश अन्तर्गत काठमाडौं, २० मंसिरमा मधेश प्रदेशको जनकपुर र २१ मंसिरमा प्रवासी प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको छ।


सम्बन्धित समाचार