१३ मंसिर,सेढवा । पर्साको जिराभवानी गाउँपालिका–२ काठमान्डौटोलका जंगाली मिर्दाहाले एक अतिबिपन्न परिवारलाई न्यानो लुगा, खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान गरेका छन्।
मिर्दाहाले जगरनाथपुर गाउँपालिका–३ बड्गोटोलमा रहेका ग्यास मियाँको घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्। आर्थिक अवस्था अत्यन्त कमजोर रहेको मियाँकी श्रीमती रबिना खातुनलाई एक बोरा चामल, आलु, खानेतेल, नुन, दाल, सोयाबीन, साबुन, सर्फ, कापी, पेन, ब्ल्याङ्केट, स्वटर लगायतका आवश्यक सामग्री प्रदान गरिएको छ।
गाउँकै प्राथमिक विद्यालयमा अध्ययनरत तीन जना बालबालिकाका लागि न्यानो लुगाको आवश्यकता देखिँदा, विद्यालयका प्रधानाध्यापक ओमप्रकाश चौधरीले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेका थिए। उक्त अपिल हेरेर हाल साउदी अरबमा रोजगारीरत मिर्दाहाका छोरा विकाश चौधरीले सहयोग गरेका हुन्।
स्थानीयहरूले बताएका अनुसार, विकाश चौधरी विगतमा पनि उपचारमा सहयोग र अतिबिपन्न परिवारलाई सामग्री वितरण गर्दै आएका छन्। यसरी समुदायका लागि योगदान पुर्याउँदै आएको यो परिवारले समाजमा मानवता र सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

















