Logo

१३ मंसिर, वीरगञ्ज । नागरिक सरकारको तर्फबाट तोकिएको आगामी फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले आफ्नो गतिविधि बढाउन सुरु गरेका छन्।

सुशीला कार्की नेतृत्वको सरकारलाई अवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको माग राख्दै आएका नेकपा एमाले अहिले निर्वाचन तयारीमा सक्रिय भएको छ।

त्यस्तै, प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको कम्युनिष्ट पार्टी लगायत १६ दलको एकता पछि बनेको नेपाली कम्युनिष्ट पार्टीले पनि प्रदेशस्तरमा ‘एकता सन्देशसभा’ आयोजना गर्दै आएको छ। रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि समानुपातिक उम्मेदवारको लागि नाम आह्वान गरिसकेको छ।

निर्वाचन हुने वा नहुने अनिश्चितताका बीच पर्सामा सम्भावित उम्मेदवारहरूको चर्चा पनि बढ्न थालेको छ। सामाजिक सञ्जालमार्फत आफ्ना निकटका उम्मेदवारको नाम प्रस्तुत गर्ने र पार्टी स्तरमा छलफल बढ्न थालेको छ।

पर्साको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उद्योगी अनिल रुंगटाको नाम चर्चामा छ। त्यस्तै जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव नेतृत्व) ले महासचिव तथा प्रदेशसभा सांसद मोहम्मद लालबाबु राउत गद्दीलाई उम्मेदवार बनाउन सक्ने सम्भावना रहेको छ। रास्वपा बाट पार्टीका जिल्ला सभापति हरि पन्त पनि सम्भावित उम्मेदवारको रुपमा देखिएका छन्।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट अजय चौरसिया र राजेन्द्र बहादुर अमात्य मध्ये एकजना उम्मेदवार बन्न सक्ने चर्चा छ। एमालेबाट वीरगन्जका पूर्व नगर प्रमुख विजय कुमार सरावगी उम्मेदवार बन्ने सम्भावना रहेको छ।

क्षेत्र नम्बर ३ मा एमालेले नयाँ अनुहार रुपेश पाण्डेलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने कांग्रेसले पूर्वमन्त्री सुरेन्द्र चौधरीलाई पुनः टिकट दिनसक्ने अनुमान गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीका छोटेलाल प्रसाद यादवले पनि सामाजिक सञ्जालमार्फत उम्मेदवार बन्ने तयारी देखाएका छन्।

क्षेत्र नम्बर ४ मा एमालेबाट जालिम मियाँको उम्मेदवारी चर्चामा छ। तर, पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया अझै चलिरहेको छ।

भदौ २३–२४ को जेनजी पुस्ताको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको र त्यसपछि बनेको नागरिक सरकारले गर्ने निर्वाचन भएकोले, यसपटक जेनजी पुस्तालाई प्राथमिकता दिनुपर्ने देखिएको छ। तर युवा पुस्ता यस पटक निर्वाचन जित्न सक्ने अवस्था अझै तयार नभएकोले पुराना अनुहारको पनि प्रभाव देखिन सक्छ।

नयाँ दल र पुराना पार्टीका युवा नेतृत्वले जेनजी पुस्तालाई समेटेर उम्मेदवारी तयारी गरिरहेका छन्। अबको निर्वाचनमा युवा र नयाँ नेताको भूमिका निर्णायक बन्ने सम्भावना छ।


सम्बन्धित समाचार