१३ मंसिर, विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनोट हुँदै गर्दा विराटनगरमा झडप भएको छ। शनिबार एमाले पार्टी कार्यालय पाञ्चालीस्थित मतदानस्थल बाहिर संस्थापन पक्षका नेता पर्शुराम बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेको घटनाको पुष्टि प्रहरीले गरेको छ।
घटना वडा नम्बर १२ का वडाध्यक्ष भानुभक्त पाठकले एक व्यक्तिलाई मतदानका लागि लगिएको विषयमा उत्पन्न विवादबाट सुरु भएको थियो। सोही व्यक्तिलाई बारम्बार मतदानस्थलतर्फ लैजाने प्रयास भएको भन्दै संस्थापन पक्षले आपत्ति जनाएपछि तनाव चर्किएको हो।
विवाद बढ्दै जाँदा विनोद ढकाल समूहका कार्यकर्ताले नेता बस्नेतमाथि हातपात गरेको प्रहरीले जनाएको छ। झडपका कारण केही समय रोकिएको मतदान पुनः सुरु गरिएको छ।
घटनास्थलमा सुरक्षाकर्मीको उपस्थितिमा मतदान प्रक्रिया अघि बढाइएको छ भने परिस्थितिलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ।

















