१४ मंसिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाबीचको एकता आज (आइतबार) औपचारिक रूपमा घोषणा हुने भएको छ। दिउँसो राष्ट्रिय सभागृहमा आयोजना हुने एकता घोषणासभामार्फत दुई दल एकीकृत हुँदैएको रास्वपा प्रवक्ता मनिष झाले पुष्टि गरे।
रास्वपाका अनुसार असल शासन, पारदर्शिता, जवाफदेहिता र समुन्नतिसँग सम्बन्धित समान एजेण्डा भएकाले दुबै दलबीच एकीकरणको प्रक्रिया अघि बढाइएको हो। विवेकशील साझाले रास्वपाको नाम, नेतृत्व संरचना र चुनाव चिन्हलाई यथावत् स्वीकार गर्दै निःशर्त एकतामा जाने निर्णय गरिसकेको छ।
विवेकशील अभियान २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको थियो। त्यसपछि २०७० मा विवेकशील नेपाली दल दर्ता भई चुनावमा सहभागिता जनाएको इतिहास छ। पछिल्ला वर्षमा विवेकशील–साझा नाममा परिचित यो दलले वैकल्पिक राजनीति र सुशासनका मुद्दालाई प्राथमिकतामा राख्दै आएको थियो।
रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको तुलनात्मक रूपमा नयाँ राजनीतिक दल हो। प्रतिनिधिसभा निर्वाचन–२०७९ मा उल्लेख्य जनसमर्थनसहित उदाएको रास्वपासँग एकता गरेपछि विवेकशीलको संरचना, नेतृत्व तह र सदस्यता अब रास्वपामै समाहित हुनेछन्।
दुवै दलले एकतालाई वैकल्पिक राजनीतिक शक्ति सुदृढ गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्। एकता घोषणा भएसँगै संयुक्त दलले आगामी राजनीतिक यात्रालाई कसरी अघि बढाउने भन्ने विषयमा थप योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

















