१४ मंसिर, काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो चार महिनामै नेपालले इतिहासकै सबैभन्दा ठूलो परिमाणमा सुन आयात गरेर सरकारी ढुकुटीमा राजस्वमा रेकर्ड राखेपनि , नेपाली सुन बजार उच्च मूल्य र अपारदर्शी कारोबारका कारण गम्भीर समस्यामा पर्ने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा समेत यहाँ समायोजन नहुँदा उपभोक्ताहरू ठगीको शिकार बन्न बाध्य भएका छन्।
भन्सार विभागका तथ्यांकअनुसार, यस अवधिमा १५ अर्ब ७२ करोड ११ लाख मूल्यबराबरको सुन भित्रिएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो आयात धेरै गुणा बढी हो। आयात वृद्धिसँगै सरकारी राजस्व पनि उल्लेख्य रूपमा बढेको छ। चार महिनामा मात्र १ अर्ब ५७ करोड २१ लाख राजस्व संकलन भएको छ। गत वर्ष यस अवधिमा २८ करोड ५५ लाख मात्र राजस्व उठेको थियो।
चाडपर्व र विवाहको सिजन लक्षित गर्दै नेपाल राष्ट्र बैंकले गत असोजमा सुन आयातको दैनिक कोटा २० किलोबाट बढाएर २५ किलो पुर्याउनु पनि आयात बढ्नुको प्रमुख कारण मानिएको छ।
उच्च मूल्यको दोहोरो दबाब
सुनको मूल्य निरन्तर उकालो लाग्नुको मुख्य कारण विश्वव्यापी प्रवृत्ति हो। विश्लेषकहरूका अनुसार, विश्वका केन्द्रीय बैंकहरू डलर सञ्चिति घटाएर सुनलाई सुरक्षित लगानीको विकल्प (Safe Haven) को रूपमा हेर्न थालेका छन्। साथै, भारत र चीनजस्ता ठूला अर्थतन्त्रले सञ्चिति बढाउनु र विश्व केन्द्रीय बैंकहरूले डिसेम्बरमा ब्याजदर घटाउने अड्कलले लगानी सुनतिर आकर्षित भएको छ।
यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको छ। शनिवार सुनको मूल्य प्रतितोला २,२०० ले बढेर २ लाख ५० हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका महासचिव किरण भाइ बज्राचार्य भन्छन्, अन्तर्राष्ट्रिय बजारमा सुरक्षित लगानीको वातावरण कमजोर भएपछि लगानीकर्ता सुनमै भीड लागिरहेका छन्। ब्याजदर तल झर्दा लगानी सुनतिर सर्ने भएकाले मूल्य अझै बढ्न सक्छ।
आयात र मूल्य उकालो लागे पनि नेपाली बजारमा देखिएको अपारदर्शिताले उपभोक्तालाई भने सिधै घाटा पुर्याएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ६ प्रतिशतसम्म भारी गिरावट आउँदा समेत नेपाली बजारमा मूल्य समायोजन गरिएन।
महासंघले सार्वजनिक बिदाका कारण मूल्य समायोजन गर्न नसकिएकोु कमजोर दाबी गरे पनि उपभोक्ता अधिकारकर्मीहरू यसलाई मूल्य कार्टेलिङ को स्पष्ट संकेत मान्छन्।
व्यवसायीहरूले बैंकबाट सुन Real Time Bill System मार्फत अन्तर्राष्ट्रिय दरमै खरिद गर्छन्। तर, उपभोक्तालाई बेच्दा महासंघले तोकेको दर लागू हुन्छ, जुन प्रायः अन्तर्राष्ट्रिय दरभन्दा ३ देखि ५ प्रतिशतसम्म बढी हुने गरेको गुनासो छ। यसले गर्दा व्यवसायीहरूले सिधै नाफा लिने गरेको देखिन्छ।
न्यूरोडमा मनोमानी र सरकारी मौनता
उच्च मूल्यका कारण मंसिरको विवाह सिजनमा पनि सुनको व्यापार कमजोर छ र माग आधा पनि छैन। उपभोक्ताहरू उच्च मूल्यसँग जुध्न नसक्दा १०-२० तोला सुन खर्चिनेहरू २=३ तोलामै चित्त बुझाउन बाध्य छन्।
यसैबीच, राजधानीको मुख्य व्यापारिक केन्द्र न्यूरोडमा मनोमानी मूल्य तोक्ने, पुरानो दर लागू गर्ने, सेवा शुल्क ९ज्याला० बढाउने र तौलमा हेरफेर गर्ने जस्ता गम्भीर आरोपहरू उपभोक्ताहरूले लगाएका छन्।
नुवाकोटका एक उपभोक्ताको गुनासो छ, अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपालमा घट्दैन, उल्टै व्यापारीले विभिन्न बहानामा मूल्य बढाइदिन्छन्।
अवैध सुनको कारोबार र प्रमुख व्यवसायीहरूबीचको मूल्य कार्टेलिङ लाई विज्ञहरूले मूल्य समायोजन नहुनुको मुख्य कारण मानेका छन्। बजार अनुगमन र उपभोक्ता हित संरक्षणको जिम्मेवारी बोकेका सरकारी निकायहरू यस्तो मनोमानीमाथि पूर्ण रूपमा मौन छन्।
नेपालमा सुन आयात बढ्नुले राजस्वमा सकारात्मक प्रभाव पारे पनि मूल्य निर्धारणको अपारदर्शिता र उपभोक्ता ठगीले बजारको छवि धूमिल बनाएको छ।
उपभोक्ता अधिकारकर्मीहरूले सरकारलाई तत्काल दैनिक मूल्य निर्धारणलाई पारदर्शी बनाउन, प्रमुख बजारहरूमा कडा अनुगमन गर्न, ठगी तथा अवैध कारोबारमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेका छन्। अन्यथा, सुन बजारको यो दोहोरो विरोधाभास निरन्तर कायम रहने र उपभोक्ताहरू लुटिने क्रम नरोकिने चेतावनी उनीहरूले दिएका छन्।

















