१४ मंसिर, काठमाडौँ । श्रीलंका ‘दितवा’ नामक तूफान र त्यससँगै आएको अविरल वर्षा, बाढीपहिरोको मारमा परेपछि देश गम्भीर मानवीय संकटमा फसेको छ।
विपत्ले हालसम्म १३२ जनाको ज्यान लिएको छ भने १७६ जना अझै बेपत्ता छन्। पछिल्ला आठ वर्षयताकै सबैभन्दा ठूलो प्राकृतिक दुर्घटनापछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले देशभर आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन्।
विपद् व्यवस्थापन विभागका महानिर्देशक सम्पत कुतोवेगोदाका अनुसार १५ हजारभन्दा बढी घर पूर्ण रूपमा नष्ट भएका छन् भने ७८ हजारभन्दा बढी नागरिकलाई अस्थायी सरकारी शिविरमा सारिएको छ। बाढी र पहिरोपछि सेना, वायुसेना र नौसेना परिचालन गरी उद्धार तथा राहत वितरण भइरहेको छ, तर धेरै ठाउँमा पहुँच अवरुद्ध भएको अधिकारीहरूको भनाइ छ।
मध्य श्रीलंकाको बादुल्ला जिल्ला र वरपरका बस्तीहरू सबैभन्दा प्रभावित बनेका छन्। पहिरोले सडक भत्किएकाले सहायता सामग्री पु¥याउन कठिनाइ परेको छ। मास्पान्ना गाउँका स्थानीय बासिन्दा समन कुमाराले भने, “हामी गाउँ बाहिर निस्कन सक्दैनौँ, कोही यहाँ आउन सक्दैन। खाना र पिउने पानी दुवैको अभाव छ।”
श्रीलंकाको एक तिहाइ भूभागमा विद्युत् सेवा ठप्प छ। पानी शुद्धीकरण केन्द्रहरू डुबानमा परेकोले नलबाट पानी आपूर्ति अवरुद्ध छ। इन्टरनेट र सञ्चार सेवामा समेत व्यापक असर परेको सरकारी अधिकारीहरू बताउँछन्।
क्यान्डी–कोलम्बो मार्गलगायत प्रमुख सडक पहिरोले अवरुद्ध हुँदा राहत सामग्री आपूर्तिमा चुनौती थपिएको छ।
विपत्ति पश्चात् सबैभन्दा अघि भारतले दुई वटा विमानमार्फत अत्यावश्यक राहत सामग्री श्रीलंका पठाएको छ। कोलम्बोमा तैनाथ भारतीय नौसैनिक जहाजबाट पनि खाद्यान्न वितरण भइरहेको भारतीय दूतावासले जनाएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकाबासीप्रति संवेदना व्यक्त गर्दै थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए। दितवा तूफान अब भारततर्फ सर्ने क्रममा रहेको भारतीय मौसम विभागले चेतावनी दिँदै चेन्नई विमानस्थलका ५४ उडान रद्द गरेको छ।
२०१७ पछि पहिलो पटक यति ठूलो मानवीय क्षति बेहोरेको श्रीलंकामा अहिले सरकार विपत् व्यवस्थापन, पुनर्वास र अन्तर्राष्ट्रिय सहयोग समन्वयमा केन्द्रित भएको छ। देशका लाखौँ नागरिक सामान्य जीवनमा फर्किन कति समय लाग्ने हो, अनुमान लगाउन पनि कठिन रहेको अधिकारीहरूको भनाइ छ।

















