१४ मंसिर, काठमाडौं । मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका-२, गागनमा आज बिहान सबेरै भएको दुर्घटनामा मोटरसाइकलमा सवार एक युवकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
पोखराबाट कटारितर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुङ्गातर्फ जाँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल बिहान करिब ३ः२० बजे ठोक्किएका थिए । दुर्घटनामा दुधौली नगरपालिका-३ बस्ने २५ वर्षीय महेश कुमरको मृत्यु भएको हो । उनलाई दुर्घटनास्थलबाट उद्धार गरी दुधौली नगर अस्पताल सिर्थौली पुर्याइए पनि चिकित्सकले बिहान ४ बजेतिर मृत घोषणा गरेका थिए ।
सोही दुर्घटनामा कमलामाई नगरपालिका–१४, चन्दनपुर बस्ने अन्दाजी २५ वर्षीय दिपेश कुमर गम्भीर घाइते भएका छन् । उनको दुधौली नगर अस्पतालमा प्रारम्भिक उपचार भएपछि थप उपचारका लागि आज बिहान ६ः५५ बजे विराटनगरतर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनास्थल प्रहरी चौकी हत्पतेबाट ३ किलोमिटर पश्चिम र इलाका प्रहरी कार्यालय डकाहाबाट करिब १० किलोमिटर पश्चिममा पर्दछ ।

















