Logo

१४ मंसिर,सेढवा । पर्साको जिराभवानी गाउँपालिका–१ स्थित ऐतिहासिक जिराभवानी मन्दिरका पुजारी दम्पतीमाथि शनिवार कुटपिट र दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ। मन्दिरका पुजारी आदेश गिरी तथा उनकी श्रीमती सुनिता देवी गिरीलाई समितिका दुई सदस्यले गालीगलौज गर्दै मन्दिरबाट जबरजस्ती निकालिएको स्थानीयले बताएका छन्।

स्थानीय जुगेश्वर गुरोका अनुसार शनिवार बिहान करिब ९ बजे पुजारी दम्पतीलाई खाना खानसमेत नदिई दुर्व्यवहार गर्दै मन्दिरबाट निकालिएको थियो। मन्दिरको चढावाको आम्दानी तथा आवश्यक खर्च व्यवस्थापनमा समितिको कमजोरीका कारण लामो समयदेखि पुजारीहरू समस्या झेल्दै आएको गुरोले बताए। उनका अनुसार पुजारीका लागि न्यानो लुगा खरिद गर्न पटक–पटक आग्रह गर्दा पनि समितिले बेवास्ता गर्दै आएको थियो। पछि एक दाताले स्वयं लुगा प्रदान गरेपछि समितिका सदस्यहरू असन्तुष्ट भई पुजारीमाथि दुर्व्यवहार गरेको आरोप स्थानीयले बताएका छन्।

घटनामा मन्दिर संरक्षण समितिका सदस्य अनरुद महतो र हरिकिशोर शर्मा संलग्न रहेको स्थानियहरूको दाबी छ। उनीहरूले समितिबारे बदनाम गरेको भन्दै पुजारी दम्पतीमाथि हातपातसम्म गरेका थिए।

मन्दिरबाट निकालिएका पुजारीलाई शनिवार साँझ गाउँका महिला र युवाहरूले पुनः मन्दिरसम्म पुर्‍याउँदै सहकार्य र सद्भाव कायम गर्न पहल गरेका छन्।
हाल घटनासम्बन्धी विषयमा जिराभवानी गाउँपालिकाका जनप्रतिनिधि, भद्रभलादमी तथा स्थानीय युवाहरूको उपस्थितिमा मन्दिर परिसरमै पञ्चायत बसिरहेको छ।


सम्बन्धित समाचार