Logo

१४ मंसिर, काठमाडौं । विश्व एड्स दिवसको अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार ३ सय ३७ जना पुगेको जानकारी दिएका छन् ।

प्राप्त तथ्याङ्क अनुसार, कुल संक्रमितमध्ये १५ वर्षभन्दा माथिका वयस्कहरूको संख्या ३३ हजार २ सय ७९ छ, जसमा १९ हजार २ सय ७९ पुरुष र १४ हजार महिला छन् । साथै, नेपालमा हाल एक हजार ५८ जना एचआईभी पोजेटिभ बालबालिका पनि रहेको बताइएको छ ।

डा.शर्माले सन् २००० देखि २०२४ सम्मको अवधिमा नयाँ संक्रमण ७६ प्रतिशतले घटेको सुखद खबर दिए पनि, यो दरलाई ९० प्रतिशतसम्म पुर्‍याउनुपर्ने चुनौती कायमै रहेको बताएका छन्। हाल नेपालमा सरदर दैनिक १ दशमलव ७ जना नयाँ संक्रमित थपिने गरेका छन् भने चिन्ताजनक पक्ष के छ भने एचआईभीका कारण दैनिक सरदर एक जनाको मृत्यु भइरहेको छ ।

यद्यपि, संक्रमितहरूमध्ये ८८ प्रतिशतले औषधि (एआरटी) खाइरहेको र ७६ प्रतिशतले शरीरमा भाइरसको मात्रा परीक्षण (भाइरल लोड टेस्ट) गराइरहेको जानकारी डा. शर्माले दिएका छन् । उनले आगामी एक वर्षभित्र एचआईभी संक्रमणविरुद्धको थप सशक्त रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।


सम्बन्धित समाचार