१४ मंसिर,वीरगञ्ज । चिसो मौसम सुरु भएसँगै वीरगञ्जमा वायु प्रदूषण तीव्र रूपमा बढ्न थालेपछि महानगरपालिकाले नगरवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। महानगरको वातावरण तथा विपद् व्यवस्थापन महाशाखाले आइतबार सार्वजनिक अपिल जारी गर्दै प्रदूषण नियन्त्रणका लागि सबैले जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने जनाएको हो।
अपिलमा खुला स्थानमा फोहर जलाउने, कृषि अवशेष तथा प्लास्टिकजन्य वस्तु जलाउने, पेट्रोलियमजन्य पदार्थ र कोइलाको अनावश्यक प्रयोग गर्ने, निर्माण कार्यमा अत्यधिक धुलो उड्ने गतिविधि गर्नेलगायत कामहरू तुरुन्त रोक्न आग्रह गरिएको छ।
महानगरका अनुसार बढ्दो वायु प्रदूषणले विशेषगरी बालबालिका, दीर्घरोगी, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति र गर्भवती महिलामा गम्भीर स्वास्थ्य प्रभाव पार्ने भएकाले सतर्कता अत्यावश्यक छ।
यसबाहेक, महानगरले प्रदूषण नियन्त्रणका लागि सरोकारवाला निकायसँग सहकार्य र समन्वय गर्दै प्रदूषण न्यूनिकरणमा सामूहिक प्रयास आवश्यक भएको जनाएको छ।


















