१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हालै सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट भइरहेका टीकाटिप्पणीका सन्दर्भमा स्पष्टीकरण दिएकी छन् ।
प्रधानमन्त्रीले फेसबुकमार्फत लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको भनाइलाई लिएर उत्पन्न विवादको सम्बोधन गर्दै ‘कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन’ भनी स्पष्ट पारेकी हुन् ।
प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको जनाउँदै, विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने राष्ट्रिय अभियानमा साथ दिन सम्पूर्ण देशवासीलाई अनुरोध गरेकी छन् । उनको यो स्पष्टीकरणले विवादलाई मत्थर पार्दै समाजमा धार्मिक सहिष्णुता र शान्ति कायम गर्न जोड दिएको देखिन्छ ।

















