१४ मंसिर, काठमाडौं । लामो समयदेखि दुई धारमा विभाजित गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच आज प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा ऐतिहासिक एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
महेश श्रेष्ठ र डा.बद्री केसीको नेतृत्वमा क्रियाशील रहेका दुई समानान्तर समूहले मुलुकमा फेरिएको परिस्थितिबीच एकताबद्ध हुने निर्णय गर्दै दस बुँदे मूल सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । यस सहमतिसँगै अब विश्वभरका एनआरएनएको नेतृत्व महेश श्रेष्ठ ले गर्ने भएका छन् । एकताको मूल सहमति अनुसार, सन् २०२६ अप्रिल १७ सम्ममा संघको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
महाधिवेशनसम्मका लागि महेश श्रेष्ठको नेतृत्वमा बनेको समितिको कार्यकाललाई पूर्ण कार्यकाल मानिने सहमति भएको छ । सहमतिपत्रमा डा. बद्री केसीको नेतृत्वको कार्यसमितिलाई र महेशकुमार श्रेष्ठको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई स्वीकार गर्ने उल्लेख छ, तर अबको नेतृत्व श्रेष्ठले सम्हाल्नेछन् । एकताको प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गरिनेछ, जसका सदस्यहरू आगामी महाधिवेशनमा उम्मेदवार बन्न पाउने छैनन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा हस्ताक्षर भएको यो दस बुँदे सहमतिपत्र मन्त्रालयमा अभिलेखीकरण गरिनेछ। यसअघि विभिन्न समयमा अदालतमा दायर गरिएका सबै मुद्दा फिर्ता लिने सहमति पनि जुटेको छ । साथै, दुवै पक्षको आर्थिक पाटोलाई पारदर्शी बनाउन स्वतन्त्र तृतीय पक्षबाट अडिट गराउने र कुनै विवाद उत्पन्न भएमा परराष्ट्र मन्त्रालयसँगको समन्वयमा समाधान गर्नेगरी सहमति गरिएको छ ।
पूर्व अध्यक्ष डा. शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनबाट श्रेष्ठ नेतृत्वमा निर्वाचित कार्यसमितिलाई स्वीकार गर्ने र १२औं महाधिवेशनमा डा. केसीको कार्यसमितिका महासचिव र कोषाध्यक्षले प्रतिवेदन पेस गरी अध्यक्ष श्रेष्ठलाई नेतृत्व हस्तान्तरण गर्ने सहमति पनि भएको छ ।

















