१४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्याधिक तरलता बढेको भन्दै त्यसलाई व्यवस्थापन गर्न आज थप ४० अर्ब रूपैयाँ बजारबाट उठाउने भएको छ ।
केन्द्रीय बैंकले ३५ दिनको अवधिका लागि निक्षेप संकलन उपकरण मार्फत यो रकम उठाउन लागेको हो, जसको बोलकबोल आज दिउँसो ३ बजे तोकिएको छ । बोल गर्न सकिने रकम कम्तीमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म तोकिएको छ । निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी पुस १० गते हुनेछ ।
यस उपकरणको ब्याजदरसमेत बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ र बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त क’ ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस निक्षेप संकलन उपकरणको बोलकबोलमा सहभागी हुन पाउनेछन् ।

















