Logo

१४ मंसिर,पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पोखराको मानव अधिकार चोकमा आयोजना गर्न लागेको एकता सभाविरुद्ध स्थानीय व्यापारीहरूले तीव्र विरोध जनाएका छन्। सभाका कारण लामो समयदेखि व्यापार व्यवसाय प्रभावित हुँदै आएको भन्दै व्यापारीहरू पर्चा–पम्प्लेटसहित सडकमा उत्रिएका हुन्। उनका अनुसार निरन्तर सडकमा हुने भीडभाड र गतिविधिले उनीहरूको रोजगारी नै प्रभावित भएको छ।

‘गरी खान देऊ’ नारासहित विरोधमा उत्रिएका व्यापारीहरूले सडक प्रयोग गरेर सभा आयोजना गर्न अनुमति दिने संरचनालाई नै कारबाही गर्न माग गरेका छन्। पोखरा ट्रेडमलबट व्यवसाय सञ्चालन गर्दै आएका नवराज त्रिपाठीले सडकमा हुने सभा र प्रदर्शनले व्यापार चौपट भएको गुनासो गर्दै भने, “वर्षौंदेखि शान्तिपूर्ण ढंगले माग राख्दा पनि सुनुवाइ भएन, अहिले फेरि उही ठाउँमा सभा राखिएको छ, यसमा हाम्रो कडा विरोध छ।”

चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिका अध्यक्ष दुर्गा सुनारले केही आर्थिक लाभका लागि महानगरले सडक नै बेचिएको आरोप लगाए। उनका अनुसार व्यापारीहरूको चासो र समस्यामाथि ध्यान नदिई कार्यक्रमलाई सहज बनाइँदा व्यापारमा ठूलो नोक्सानी भोग्नुपरेको छ। “चार घण्टा सडक बन्द हुँदा कति क्षति हुन्छ? यस्तो कार्यक्रम आजै रोकियोस्,” सुनारले भने। व्यापारीहरूले मेयर धनराज आचार्यविरुद्ध पनि नाराबाजी गरेका छन्।

व्यापारीहरूले यसअघि नै महानगरमा ज्ञापनपत्र बुझाउँदै उक्त स्थानमा सभा नगरिदिन बारम्बार आग्रह गरेका थिए, तर सुनुवाइ नभएको उनीहरूको आरोप छ। सो सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेता सम्बोधन गर्ने कार्यक्रम रहेको छ। व्यापारिक विरोधका क्रममा केहीबेर व्यापारी र नेकपा कार्यकर्ताबीच वादविवादसमेत भएको थियो।

कार्यक्रमको विरोधस्वरूप व्यापारीहरूले आफ्नो पसलका सटर नै तानेर असन्तुष्टि प्रदर्शन गरेका छन्।


सम्बन्धित समाचार