१४ मंसिर, काठमाडौं । औषधि व्यवसायीहरूले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ तत्काल खारेज गर्न माग गर्दै आज पनि औषधि व्यवस्था विभागमा धर्ना दिएका छन् ।
व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर शान्तिपूर्ण प्रदर्शन गर्दै उक्त उपदफाको कडा विरोध गरेका हुन् । विरोध कार्यक्रममा बोल्दै नेपाल औषधि संघ, काठमाडौं जिल्ला शाखाका महासचिव शोभमान श्रेष्ठ ले औषधि ऐनको दफा ११ को संशोधनले औषधि व्यवसायीहरूलाई व्यवसायबाट ‘पलायन गराउन खोजिएको’ आरोप लगाएका छन् । उनले जनस्वास्थ्यलाई मध्यनजर गर्दै सेवाग्राहीको लागि औषधि पसलहरू खोलिरहेको भए पनि आन्दोलनलाई थप सशक्त बनाउन प्रत्येक दिन पसल बन्द गर्ने समय १ घण्टाको दरले बढाउँदै लगिने बताएका छन् ।
व्यवसायीहरूले आफ्नो मागलाई मंसिर १६ गतेसम्म सम्बोधन नगरिएमा मंसिर १७ गतेदेखि थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिएका छन्।

















