Logo

१४ मंसिर,वीरगञ्ज । रक्सौललाई जोड्ने मितेरीपुल—नेपाल–भारतबीचको मित्रता, सद्भाव र सहकार्यको प्रतीक—मा आज एक भव्य संयुक्त सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। दैनिक ३५–४० हजार मानिस आवतजावत गर्ने यस महत्वपूर्ण क्षेत्रमा गरिएको अभियानले सीमाक्षेत्रको सौन्दर्य तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

वीरगञ्ज महानगरपालिकाको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रहरी कार्यालय, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र भारतीय सुरक्षा बल (SSB) ४७ बटालियनको सक्रिय सहकार्यमा कार्यक्रम सम्पन्न गरियो।

कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले गरे। सशस्त्र प्रहरी भन्सार गुल्मका डिएसपी पुरुषोत्तम भण्डारीको विशेष उपस्थितिमा कार्यक्रमको औपचारिकता सम्पन्न भयो।

यसैगरी, एसएसबी ४७ बटालियनका कमाण्डिङ अफिसर संजय रावत, डिपुटी कमाण्डेन्ट दीपक कृष्णा, डिपुटी कमाण्डेन्ट नवीन कुमार सहित विभिन्न भारतीय सुरक्षा अधिकारी तथा नेपालका विभिन्न निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नगर प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, महानगरका कर्मचारी, स्वच्छता स्वयंसेवक तथा सञ्चारकर्मीहरूले अभियानमा सक्रिय सहभागिता जनाए। सरसफाइ अभियानले मितेरीपुल आसपासको क्षेत्र थप सफा र व्यवस्थित बनेको छ भने वृक्षारोपणले सीमाक्षेत्रलाई वातावरणमैत्री र हराभरा बनाउने लक्ष्यलाई अघि बढाएको छ।

सहभागी निकायहरूले सीमाक्षेत्रलाई सफा, सुरक्षित र हराभरा राख्न आगामी दिनहरूमा पनि यस्ता अभियान निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


सम्बन्धित समाचार