१४ मंसिर,वीरगञ्ज । पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले जिम्मेवारी सम्हालेपछि जिल्लामा अपराध नियन्त्रणदेखि अवैध गतिविधि रोकथामसम्म उल्लेखनीय प्रगति भएको पर्सा प्रहरीले एक महिनाको कार्यसम्पादन सार्वजनिक गर्दै जनाएको छ। कार्तिक ७ गतेदेखि मंसिर ७ गतेसम्मको अवधिलाई समेटिएको प्रतिवेदनमा प्रहरीका सफल अभियानहरू प्रकाश पारेका छन्।
विभिन्न मुद्दामा फरार रहेका १८४ जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकाबाट ६ लाख २ हजार ३१९ रुपैयाँ जरिवाना असुल गरिएको छ भने १८ वर्ष १ महिनाको कैद सजाय कार्यान्वयन गरिएको छ। फरार प्रतिवादी पक्राउ अभियान निरन्तर जारी रहने प्रहरीको भनाइ छ।
एक महिनामा खाद्यान्न, कपडा लगायतका भन्सार छली गरी ल्याइएका ३ करोड ७५ लाख ५० हजार ५५६ रुपैयाँ बराबरका सामग्री बरामद गरिएको छ। पर्सा प्रहरीले सीमाक्षेत्रमा निगरानी कडाइ गर्दै चोरी पैठारी नियन्त्रणमा सशक्त अभियान सञ्चालन गरेको छ।
प्रहरीले २७ किलो ४८० ग्राम गाँजा बरामद गरेको छ र चार जनालाई पक्राउ गरेको छ। सिमा क्षेत्रमा लागुऔषध ओसारपसार रोक्न सुराकी व्यवस्था र निगरानी अझै तीव्र बनाइएको छ।
पर्सा प्रहरीले ५ सय लिटर घरेलु तयारी मदिरा नष्ट गरेको छ। अवैध बालुवा उत्खननमा संलग्न पाँचवटा ट्र्याक्टर नियन्त्रणमा लिइएको छ। वन अपराध नियन्त्रण अन्तर्गत ६१.५ क्युबिक फिट सालको अवैध काठ बरामद गरिएको छ, जसको मूल्य करिब २ लाख ६६ हजार रुपैयाँ छ।
एक महिनामा हराइएका नौ जनामध्ये सात बालिका र दुई महिलालाई फेला पारेर अभिभावकको जिम्मामा बुझाइएको छ। थप दुई बालिकालाई पनि उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।
पर्सा प्रहरीले आगामी दिनमा अझ प्रभावकारी रूपमा अपराध नियन्त्रण, जनसुरक्षा र सीमाक्षेत्र निगरानीका कार्यक्रमलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

















