१४ मंसिर, काठमाडौं । बाराको एक पानी उद्योगका व्यवस्थापक रामकिशोर सिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य योजनाकारसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज महानगरपालिका–२२ का २१ वर्षीय राजनकुमार राम र ३२ वर्षीय प्रमोद साह रहेका छन् । सर्लाहीको धनकौल घर भई बाराको पर्सौनी गाउँपालिकास्थित किरण वेभरेज प्रालिका व्यवस्थापक सिंहको शव हत्या गरिएको अवस्थामा १२ मंसिर बिहान उद्योग नजिकैको खोल्सामा भेटिएको थियो ।
प्रहरी अनुसन्धानबाट हत्याका मुख्य योजनाकार राजन सोही उद्योगका सवारी चालक रहेको र उनलाई व्यवस्थापक सिंहले १० मंसिरदेखि कामबाट निकालेपछि रिसको झोकमा हत्याको योजना बनाएको खुलेको छ । यसअघि पनि गाडीको कलज प्लेट जलेको विषयमा सिंहले राजनलाई गाली गर्दा उनले काम छोडेका थिए ।
कामबाट निकालिएको झोकमा ११ मंसिर साँझ राजनले वीरगञ्जमा प्रमोदसँग बसेर मदिरा पिउँदै सिंहको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । उनीहरूले वीरगञ्जबाटै घरेलु धारिलो हतियार छुरा र ईंट्टा प्रयोग गरी उद्योगभित्रै सिंहको हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको बारा प्रहरीले बताएको छ ।
बारा प्रहरीले घटना भएको १६ घण्टाभित्रै अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको छ। मुख्य योजनाकार राजनकुमार राम भिस्वा नाकाबाट भारततर्फ भाग्न लागेको अवस्थामा पर्साको छिपहरमाई गाउँपालिकाबाट पक्राउ परेका थिए भने अर्का अभियुक्त प्रमोद साह वीरगञ्जबाट पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत बाराबाट कर्तव्य ज्यान कसुर मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

















