१४ मंसिर, काठमाडौं । गत साता लगातार पाँच दिन बढेको नेपालको सेयर बजारमा यो साताको पहिलो दिन आइतबार २८ दशमलव ८९ अंक १ दशमलव ०७ प्रतिशत को गिरावट आएको छ ।
यस गिरावटसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६४७ अंकमा झरेको छ । कारोबार सुरु भएपछि केही समय बढेर २६९१ अंकसम्म पुगेको बजार त्यसपछि भने बिक्री पक्ष हाबी हुँदा अन्तिम समयसम्म ओरालो लागिरह्यो । बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ ।
अघिल्लो दिन ६ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २ करोड बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये ३९ कम्पनीको मूल्य बढ्यो भने २१६ कम्पनीको घट्यो । उत्पादन तथा प्रशोधन समूहको सूचक मात्र ० दशमलव ७३ प्रतिशतले बढ्यो, बाँकी प्रायः सबै समूहहरू राताम्य रहे । बैंकिङ, विकास बैंक, हाइड्रोपावर, लगानी, माइक्रोफाइनान्स जस्ता प्रमुख समूहहरू १ प्रतिशतभन्दा बढीले घटे ।
आइतबार चार कम्पनी— सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक— को मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो। यद्यपि, जोशी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.२९ प्रतिशतले घट्यो । आज हिमालयन रिइन्स्योरेन्स, जोशी हाइड्रोपावर, ग्रिन भेन्चर्स, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरूमा धेरै कारोबार भएको थियो ।

















