१४ मंसिर, काठमाडौं । नेपालको राजनीतिमा वैकल्पिक शक्तिको रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज औपचारिक रूपमा एकता घोषणा गरिएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा दुवै पार्टीका शीर्ष नेताहरूले एकता घोषणा गरेका हुन् । रास्वपाका सभापति रवि लामिछाने र विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा नेतृत्वका दुई दलबीच एकता गर्ने सहमति केही दिनअघि मात्रै भएको थियो ।
विवेकशील साझाले आफ्नो केन्द्रीय समिति बैठकबाट पार्टी एकताको प्रस्तावलाई अनुमोदन गरेपछि यो एकताले मूर्तरूप पाएको हो । एकता प्रक्रियालाई अघि बढाउन दुवै पार्टीले कार्यदल नै बनाएर छलफल गरेका थिए । यस एकतामा विवेकशील साझाले रास्वपाको नाम र चुनाव चिह्नलाई यथावत् राख्दै निःसर्त सामेल हुने निर्णय गरेको छ ।
यद्यपि, विवेकशील साझाका नेता मिलन पाण्डे भने यो एकता प्रक्रियामा सामेल नहुने भएका छन् । यो एकताले संसदमा चौथो ठूलो दलको रूपमा रहेको रास्वपाको आधार थप फराकिलो बनाउन र वैकल्पिक राजनीतिको धारलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।


















