Logo

१४ मंसिर, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन लाई पक्राउ गरेको छ ।

सीआईबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले शेरचन पक्राउ परेको पुष्टि गरेका छन् । सीआईबीले पछिल्लो समय प्रभु ग्रुपअन्तर्गत सञ्चालित प्रभु म्यानेजमेन्ट फन्ड को गैरकानुनी कारोबार, विशेषगरी शंकास्पद रेमिट्यान्स (विप्रेषण) कारोबारबारे अनुसन्धान गरिरहेको छ । यस अनुसन्धानको क्रममा यसअघि नै नेकपा एमालेका पूर्वसांसद एवम् प्रभु ग्रुपका सञ्चालक देवीप्रसाद भट्टचन र प्रभु म्यानेजमेण्ट प्रालिका खाता सञ्चालक हेमकुमार महाजु पक्राउ परिसकेका छन् । सीआईबीको दाबीअनुसार, प्रभु म्यानेजमेन्ट प्रालिको सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिको नामबाट शंकास्पद रूपमा ९ लाख ९९ हजार ५ सय रुपैयाँका दरले पटक पटक रकम जम्मा गरिएको पाइएको छ । प्रभु म्यानेजमेन्ट प्रालिले रेमिट रकम भुक्तानी मात्र गर्नु पर्नेमा विप्रेषण कारोबारको आवरणमा अवैध रूपमा हुण्डी मार्फत प्राप्त भएको रकम हिसाब मिलान गरेको देखिएको सीआईबीको भनाइ छ ।

ठाकुरप्रसाद मानन्धर लगायतले जाहेरी दिएपछि सीआईबीले प्रभु म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक कुसुम लामा समेत माथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मा अनुसन्धान गरिरहेको थियो। देशभरका तीन दर्जनभन्दा बढी सहकारी संस्थाहरूले पनि रकम हिनामिना भएको भन्दै उजुरी दिएका थिए ।

२०६९ सालमा प्रभु म्यानेजमेन्ट प्रालिलाई सुपर एजेन्ट बनाएर सहकारी संस्थाहरू मार्फत विप्रेषण कारोबार गर्ने सम्झौता गरिएको थियो, तर पछि प्रभु मनि ट्रान्फर प्रालिका अध्यक्ष देवीप्रकाश भट्टचन समेतले रकम हिनामिना गरी सहकारीहरूलाई सोधभर्ना नगरेको आरोप लागेको छ ।


सम्बन्धित समाचार