Logo

१४ मंसिर,वीरगञ्ज । पर्साका युवा पुस्ताले नेपाल–भारत खुला सीमाको दुरुपयोग, घुसपैठ, मानव तस्करी र सङ्गठित अपराध नियन्त्रणमा कडा कदम चाल्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका छन्।

आइतबार वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालयमा दर्जनौँ जेन–जी युवाहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन-पत्र बुझाएका थिए। ज्ञापनमा खुला सीमा अपराधीहरूको ‘सेफ पासेज’ बन्न पुगेको भन्दै तत्काल कडा निगरानी र नियन्त्रणका उपाय अवलम्बन गर्न माग गरिएको छ।

युवाहरूले ज्ञापनमा सर्वोच्च सुरक्षा उपायको रूपमा सीमावर्ती नाकामा परिचयपत्र जाँचका ‘प्रमाणीकरण कक्ष’, सिसिटिभी क्यामेरा र ड्रोनद्वारा डिजिटल निगरानी, नेपाल–भारत संयुक्त गस्ती, ‘शून्य सहनशीलता’ नीति र विशेष तस्करी विरोधी अभियान सञ्चालन गर्न जोड दिएका छन्।

ज्ञापनमा उल्लेख छ, “आगामी निर्वाचन नजिकिँदै गर्दा यस्ता जोखिम झन् बढ्न सक्छन्, र यसले राष्ट्रिय सुरक्षा र सामाजिक सद्भावमा गम्भीर खतरा निम्त्याउन सक्छ।”

प्रमुख जिल्ला अधिकारी दाहालले युवाहरूको चिन्ता जायज रहेको र उठाइएका सुझाव सम्बन्धित निकायमा पठाइने बताएका छन्। ज्ञापनको बोधार्थ प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयलाई समेत पठाइएको छ।

सुरक्षा विज्ञहरूको अनुसार, नेपाल–भारत खुला सीमामा परिचय-पत्र जाँचको अभावले घुसपैठलाई सहज बनाएको छ। यसैबीच, भारतको पश्चिम बंगालमा मतदाता सूचीको गहन पुनरीक्षण सुरु भएपछि वर्षौँदेखि लुकिछिपी बसेका बङ्गलादेशी र रोहिंग्या नागरिक नेपाल प्रवेश गर्न सक्ने जोखिम बढेको बताइएको छ। उदाहरणका लागि, झापाको काँकडभिट्टा–पानीटंकी नाकाबाट जनवरी–अक्टोबर २०२५ बीच भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले ३७ जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ।


सम्बन्धित समाचार