Logo

१५ मंसिर, काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको खुद्रा मूल्य घटाएको छ। निगमको सञ्चालक समितिको आइतबार बसेको बैठकले मध्यरातदेखि लागू हुनेगरी दुवै इन्धनमा प्रतिलिटर एक-एक रुपैयाँले मूल्य समायोजन गरेको हो।

नयाँ समायोजनपछि पहिलो वर्गका उपभोक्ताले डिजेल/मट्टितेल प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका उपभोक्ताले १४५ रुपैयाँ र तेस्रो वर्गका उपभोक्ताले १४६ रुपैयाँमा खरीद गर्न सक्नेछन् ।

निगमले देशभरका डिपोहरूलाई तीन वर्गमा विभाजन गर्दै मूल्य निर्धारण गर्दै आएको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्गमा परेको छ । सुर्खेत र दाङ डिपो दोस्रो वर्गमा परेका छन् भने काठमाडौँ, पोखरा र दिपायल डिपो तेस्रो वर्गमा सूचीकृत छन्। यी डिपोबाट १५ किलोमिटर परिधिभित्र रहेका क्षेत्रमा नयाँ खुद्रा मूल्य लागू हुनेछ ।

यता, हवाई इन्धनको मूल्य भने निगमले वृद्धि गरेको छ। आन्तरिक उडानतर्फ हवाई इन्धन प्रतिलिटर ६ रुपैयाँ बढेर १३४ रुपैयाँ पुगेको छ। अन्तरराष्ट्रिय उडानका लागि काठमाडौँ डिपोबाट आपूर्ति हुने हवाई इन्धन प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले बढेर एक हजार १५ डलर कायम भएको निगमले जनाएको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (IOC)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ ४४ पैसा घटेको छ भने हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसा वृद्धि आएको छ। सोही अन्तरका आधारमा उपभोक्तामुखी खुद्रा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।


सम्बन्धित समाचार