Logo

१५ मंसिर,वीरगञ्ज । वीरगञ्जका दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापना गरिएको ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आंशु सर्राफलाई प्रदान गरिएको छ। स्व. सर्राफको तेस्रो स्मृति सभाको अवसरमा सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित विशेष समारोहमा उनलाई सम्मान गरिएको हो।

यात्रा डेली डटकमका डेस्क सम्पादक आंशु सर्राफलाई २१ हजार रुपैयाँ राशिसहित प्रशंसापत्र प्रदान गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले दोसल्ला ओढाई सम्मानित गर्दै पत्रकारितामा उनको सक्रियता, प्रतिबद्धता र योगदान प्रशंसनीय रहेको बताए।

कार्यक्रममा सामाजवादी प्रेस संगठन नेपाल जिल्ला कार्य समिति पर्साका अध्यक्ष शम्भुकुमार सुमनको अध्यक्षतामा विभिन्न वक्ताहरूले स्व. नरेश सर्राफको पत्रकारिता यात्रालाई स्मरण गर्दै उनको सत्यनिष्ठा, पेशागत निष्ठा तथा मूल्य–मान्यताले नयाँ पुस्ताका पत्रकारहरूलाई प्रेरणा दिएको उल्लेख गरे। उनीहरूको भनाइमा स्व. सर्राफले देखाएको मार्गदर्शन आजका पत्रकारहरूका लागि महत्वपूर्ण सन्देश बनेको छ।

पुरस्कार वितरण समारोहमा स्व. सर्राफका परिवारका सदस्यहरू, पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीलगायतका व्यक्तिहरूको उपस्थिती थियो। समारोहले स्व. सर्राफको स्मृति र पत्रकारिताप्रति उनको समर्पणलाई अझ सजीव बनाएको सहभागीहरूको भनाइ थियो।


सम्बन्धित समाचार