१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा पार्टीको १५ औँ महाधिवेशन को कार्यतालिकालाई लिएर विवाद थप चर्किएको छ ।
पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले ल्याउन लागेको मध्यमार्गी प्रस्तावमाथि उनकै समूह मानिने संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले नै असन्तुष्टि जनाएका छन् । खड्काले पुस महिनाको अन्तिम साता महाधिवेशन गर्ने गरी कार्यतालिका पेश गर्ने तयारी गरेका छन्, तर संस्थापन पक्षका नेताहरूले उक्त प्रस्ताव स्वीकार गर्न नसकिने चेतावनी दिएका छन् ।
कार्यतालिका पेश गर्नुअघि सहयोगका लागि आग्रह गर्न खड्काले बोलाएका संस्थापन पक्षका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य गुरु बराल, किरण पौडेल, जीतजंग बस्नेत लगायतका नेताहरूले आफ्नो असहमति व्यक्त गरेका छन् । केन्द्रीय सदस्य गुरु बरालले कार्यवाहक सभापतिसँग आफूहरूको कुरा नमिलेको र चित्त बुझ्दो प्रस्ताव नआए स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् । उनले पार्टी कार्यालय र सदस्यताको टुंगो नलागेको अवस्थामा फास्टट्र्याक मा महाधिवेशन गरेर मात्रै नहुने भन्दै खड्कालाई आफ्नो अडान सुनाएका थिए ।
खड्कासँग कुरा नमिलेपछि असन्तुष्ट नेताहरूको समूहले सभापति शेरबहादुर देउवा लाई भेट्न गएका थिए । देउवालाई भेट्नेहरूमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहित पुसमा महाधिवेशन हुनु हुँदैन भन्ने अडानमा रहेका नेताहरू थिए । विशेष महाधिवेशनको माग गरिरहेका उनीहरूले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता नलिएसम्म पुसको तालिकाको कुनै औचित्य नहुने र वैशाखमा महाधिवेशन गर्ने आफ्नो अडान कायम रहने चेतावनी दिएका छन् । महाधिवेशन विवादका कारण पटक(पटक सर्दै आएको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

















