१५ मंसिर,पर्सागढि । पर्सा जिल्लाको पर्सागढि नगरपालिका–३ झुलिटारमा आज बिहान बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। स्थानीय जगतबहादुर श्रेष्ठकी ५५ वर्षीया श्रीमती शान्तामाया श्रेष्ठ जङ्गलमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको हो।
श्रेष्ठ अन्य साथीहरूसँग गाउँनजिकै रहेको सबैया साझेदारि बनअन्तर्गत चिसापानी जङ्गल क्षेत्रमा घाँस संकलन गरिरहेको समयमा बाघले अचानक आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। साथीहरूले ठूलो आवाजसहित हल्ला गरेपछि बाघ त्यहाँबाट भागेको थियो।
आक्रमणमा परेकी शान्तामाया श्रेष्ठको गाला, मुख, घाँटी र आँखामा गम्भीर चोट लागेको र उनको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको स्थानीय बिक्रम कार्कीले जानकारी दिए।
यसअघि पनि पर्सा वन्यजन्तु आरक्षअन्तर्गत पथलैया र सिमरा आसपासका क्षेत्रमा बाघको आक्रमण बढ्दै गएको थियो। पछिल्लोपटक पर्सागढिमा आक्रमण दोहोरिएपछि स्थानीयवासी त्रसित बनेका छन् र जनसुरक्षाप्रतिको चिन्ता थपिएको छ।

















