१५ मंसिर,वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिकाले त्रिभुवन राजपथ र महेन्द्र राजमार्गमा सडक अतिक्रमण, फुटपाथ ओगट्ने टहरा र पसल तथा नालामा जथाभावी ढलान जस्ता गतिविधि बढिरहेको पाइएको भन्दै तत्काल हटाउन सडक डिभिजन कार्यालय, हेटौडालाई पत्राचार गरेको छ।
उपमहानगरपालिकाको सूचनामा जनाइएको छ कि अव्यवस्थित सडक क्रसिङका कारण सर्वसाधारणबाट निरन्तर गुनासो आइरहेको छ। यसले यातायातमा असुविधा मात्र होइन, पैदल यात्री, विशेष गरी विद्यालय जाने बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षित आवतजावतमा गम्भीर समस्या सिर्जना गरेको छ।
नगरपालिकाले विगतमा अन्य सरकारी कार्यालयहरूसँग सहकार्य तथा समन्वयमा सडक सचेतनामूलक गतिविधिहरू संचालन गरिरहे पनि प्रभावकारी नियन्त्रण गर्न नसकेको जनाएको छ। जथाभावी नालामा ढलान गर्दा वर्षायाममा पानी निकास हुन नसक्ने, सडकबाटै पानी बग्ने र दुर्घटना हुने सम्भावना बढ्ने उल्लेख गरिएको छ। साथै, सडकको भौतिक संरचना बिग्रँदा दैनिक रूपमा सवारी दुर्घटना र मानिसहरूको मृत्यु हुने घटनाहरू बढेको तथ्य पनि प्रकाशमा आएको छ।
नगर प्रमुख राजन पौडेलले तत्काल आवश्यक कारबाही गरी अवैध अतिक्रमण हटाउन, नालामा ढलान भत्काएर सफा गर्न, अव्यवस्थित क्रसिङ व्यवस्थित गर्न र बिग्रिएका सडक खण्डहरूको मर्मत सम्भार गर्न अनुरोध गरेका छन्।
सडक संरचना संरक्षण, सुरक्षित यातायात र दिगो व्यवस्थापनका लागि प्राविधिक सहयोग र समन्वय प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय, बारा र जिल्ला ट्राफिक कार्यालय, निजगढलाई बोधार्थ पनि पठाइएको छ।

















