१६ मंसिर, वीरगञ्ज । देशको मुख्य व्यापारिक प्रवेशद्वार मानिने वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षका पहिलो चार महिनामा मात्रै रु पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन्।
यो आर्थिक वर्षको सोही अवधीमा यो रकम गत वर्षको तुलनामा रु एक अर्ब २४ करोडले बढी रहेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार सबैभन्दा धेरै मकै, धान र चामलको आयात भएको छ।
भन्सारका तथ्यांकअनुसार चार महिनामा मात्र मकै रु २ अर्ब २९ करोड बराबरको ४ करोड २१ लाख ८६ हजार १११ किलोग्राम, धान रु २ अर्ब १ करोड बराबरको ५ करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम आयात भएको छ।
त्यसैगरी, सो अवधिमा चामल : रु १ अर्ब ६ करोड मूल्यका १ करोड ९ लाख ४४ हजार ५६० किलोग्राम चामल भित्रिएको छ।

















