१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि तयारी तीव्र पार्दै पार्टीका सम्बन्धित निकायलाई राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यहरूको उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ ।
पार्टीले आगामी मंसिर मसान्त २०८२ भित्र उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गरिसक्नका लागि सर्कुलर जारी गरेको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल ले सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठक को निर्णयानुसार यो परिपत्र जारी गर्नुभएको हो ।
माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा पार्टी विधानको सम्बन्धित धाराहरू (राष्ट्रियसभाका लागि धारा ३२ को उपधारा ९ (क) र प्रतिनिधिसभाका लागि धारा ३२ को उपधारा ८ (क) बमोजिमको प्रक्रिया पूरा गर्न स्पष्ट निर्देशन दिइएको छ । कांग्रेसले तल्ला निकायहरूबाट मंसिर मसान्तभित्र उम्मेदवारको नाम प्राप्त भइसकेपछि प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवारहरूको टिकट एकै पटक वितरण गर्ने योजना बनाएको छ। यस परिपत्रसँगै कांग्रेसभित्र आसन्न निर्वाचनका लागि उम्मेदवारीको दौड सुरु भएको छ।

















