Logo

१६ मंसिर,जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेशका संसदीय दलका नेता जयनुल राइनले जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने उद्देश्यसहित नयाँ सरकार गठन प्रक्रियामा सक्रिय पहल थालिने बताएका छन्।

सर्वोच्च अदालतले वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएपछि आजै साँझ उक्त समयसीमा सकिँदैछ। राइनका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन सक्ने सम्भावना न्यून भएकाले त्यसपछि तुरुन्तै प्रदेश प्रमुखलाई भेटेर नयाँ सरकार गठनका लागि आह्वान गर्न माग गर्ने तयारी भइरहेको छ।

राइनले भने, ‘मुख्यमन्त्रीजी विश्वासको मत लिन सक्ने स्थिति देख्दिनँ। समयसीमा पूरा भएको क्षणदेखि नै हामी ७ दल मिलेर सरकार निर्माणको पहल थाल्नेछौँ।’

उनका अनुसार सात दलबीच जितेन्द्र सोनललाई संभावित मुख्यमन्त्रीका रूपमा समर्थन गर्ने प्रारम्भिक सहमति भइसकेको छ। तर कांग्रेसले पनि सरकार नेतृत्वमा दाबी गरिरहेको भन्दै अन्तिम निर्णयका लागि दलहरूबीच बैठक बसेर सहमति खोजिने उनले बताए।


सम्बन्धित समाचार