१६ मंसिर, काठमाडौं । साविक विजेता टोली जनकपुर बोल्ट्स ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा आफ्नो खाता खोलेको छ ।
मंगलबार भएको प्रतिस्पर्धामा जनकपुरले चितवन राइनोज माथि ६ विकेटको सानदार जित निकाल्दै प्रतियोगिताको पहिलो सफलता दर्ता गरेको हो । त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १७७ रनको लक्ष्य लाई जनकपुरले १७ ओभर ३ बलमा मात्र चार विकेट गुमाउँदै सफलतापूर्वक पूरा गर्यो। जनकपुरको जितमा दुई ब्याट्सम्यानको अर्धशतकीय पारी निर्णायक बन्यो । माज शदागद ले आक्रामक ब्याटिङ गर्दै ३० बलमा ६ चौका र ४ छक्काको मद्दतले ६३ रन बनाए भने कप्तान अनिल शाह ले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन को अर्धशतकीय पारी खेले । ओपनर आसिफ शेख ले १८ रनको योगदान दिएका थिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन को चुनौतीपूर्ण योगफल तयार पारेको थियो। चितवनका लागि डेभिड मलान ले ५४ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन को अर्धशतक बनाए भने अर्जुन साउद ले ३९ बलमा ५२ रन को अर्को महत्त्वपूर्ण अर्धशतकीय पारी खेले । चितवनका कप्तान कुशल मल्ल ले ३० रनको योगदान दिएका थिए ।
बलिङतर्फ जनकपुरका लागि कप्तान अनिल शाह, रुपेश सिंह, निकोल इस्टोन र माज शदागदले समान एक(एक विकेट लिए । यो जितसँगै जनकपुरले पाँच खेलबाट पहिलो जित हासिल गरेको छ भने चितवनको पाँच खेलबाट ४ अंक रहेको छ ।

















