१६ मंसिर,बारा । बाराको सिम्रौनगढ क्षेत्रबाट प्रहरीकै मिलेमतोमा तस्करी भएको भारतीय चकलेट कलैयाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी खजानीको मिलोमतोमा नेपाल भित्रिएको एक पिकअप भारतीय चकलेट प्रहरीले आज विहान कलैयाबाट नियन्त्रणमा लिएको हो । प्रहरी चौकी बसपार्कको टोलीले विशेष सूचनाको आधारमा कलैयाबाट ना.२च १३०४ नम्बरको पिकअप सहित भारतीय चकलेट नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका घुमुवा प्रहरी सहायक हवल्दार रुपेश कुशवाहा र प्रहरी चौकी खजानीका इन्चार्ज प्रहरी सहायक निरिक्षक विश्वराज कुशवाहाको मिलोमतोमा सो चकलेट गएराती भारतबाट नेपाल भित्रिएको श्रोतले जनाएको छ । प्रहरी सहायक निरिक्षक कुशवाहाले भने आफूले कोही कसैसँग कुनै आर्थिक लेनदेन नगरेको दावी गरेका छन् ।
कुशवाहाद्वयको मिलोमतोमा गएराती दिपक र भोला नाम गरेको तस्करले भारतीय चकलेट नेपाल भित्रयाएको प्रहरी श्रोतले दावी गरेको छ । सिम्रौनगढ क्षेत्रबाट अहिले ब्यापक तस्करी भइरहेको स्थानीयले जनाएका छन् ।

















