१६ मंसिर, काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने समयसीमा आज राति ८ बजे सकिनै लाग्दा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलन आयोजना गर्न लाग्नुभएको छ। मुख्यमन्त्रीको सरकारी आवासमा आज साँझ ५स्३० बजे पत्रकार सम्मेलन राखिएको छ ।
सर्वोच्च अदालतको परमादेश सोमबार राति ८ बजे नै ईमेलमार्फत प्रदेशसभा र मुख्यमन्त्री कार्यालयमा आइसकेको थियो । आदेशबमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिने सम्बन्धी पत्र प्रदेशसभामा नपठाएपछि उहाँको कदमबारे थप अन्योल बढेको थियो । दिनभर मुख्यमन्त्री यादवले पार्टीभित्र र कानुनविदहरूसँग विश्वासको मत लिने वा राजीनामा दिने विकल्पबारे गहन छलफल गर्नुभएको बताइएको छ ।
यदि मुख्यमन्त्री यादवले आज राति ८ बजेसम्म विश्वासको मत नलिए वा राजीनामा पनि नगरेको खण्डमा उहाँ पदमुक्त हुने संवैधानिक अवस्था सिर्जना हुनेछ। त्यसैले, यो पत्रकार सम्मेलनमा उहाँले विश्वासको मत लिने औपचारिक घोषणा गर्ने वा संवैधानिक संकट टार्नका लागि राजीनामा दिनेमध्ये कुनै एक महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

















