१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोटमा कडाइ गर्दै सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिहरू लाई उम्मेदवार नबनाउने नीति लिएको छ ।
पार्टी केन्द्रीय कार्यसमितिको सोमबारको निर्णय अनुसार कांग्रेसले मातहतका सबै निकायलाई उम्मेदवारको नाम सिफारिस गर्न जारी गरेको परिपत्रमा यो स्पष्ट शर्त उल्लेख गरिएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेल द्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ, “जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुने छन्।” यस निर्णयले पार्टीभित्रको उम्मेदवारी छनोट प्रक्रियालाई थप नैतिक र सामाजिक रूपमा जिम्मेवार बनाउने प्रयास गरेको छ ।
कांग्रेसले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरूलाई प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिइसकेको छ । मुख्यसचिव पौडेलका अनुसार, केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम पार्टी विधानको व्यवस्थाअनुसार उम्मेदवार सिफारिस गर्नका लागि यो परिपत्र जारी गरिएको हो ।

















