१६ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराउँदै कांग्रेस नेता तथा पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही लगायतलाई सफाइ दिने र दोषी ठहर भएका अन्य प्रतिवादीहरूलाई कम सजाय तोक्ने विशेष अदालतको निर्णयमाथि असहमति जनाएको हो । अख्तियारले वाइडबडी विमान खरिदमा एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको दाबी गरेको छ । आयोगले विशेष अदालतको फैसलामा दाबीअनुसारको बिगो र सजाय नभएको जिकिर गर्दै सर्वोच्चमा पुनरावेदन गरेको हो ।
अख्तियारद्वारा जारी विज्ञप्तिमा विमानको भारवहन क्षमता र मूल्य वृद्धिका नाममा बदनियतपूर्ण ढंगले रकम भुक्तानी गरी भ्रष्टाचार गरिएको उल्लेख छ। आयोगले आपूर्तिकर्तालाई बदनियत राखी ७४ करोड ५८ लाख ७७ हजार ४८२ रुपैयाँ बढी भुक्तानी गरिएको र २४२ टन क्षमताको विमानका लागि सम्झौता भए पनि २३० टन क्षमताको विमान ल्याउँदा १२ टनको मूल्य नघटाई उल्टै ७२ करोड ५२ लाख आठ हजार रुपैयाँ हानी नोक्सानी पुर्याइएको दाबी गरेको छ ।
विशेष अदालतले यसअघि पूर्व महाप्रबन्धक सुगत रत्न कंसाकार र पूर्वसचिव शंकर प्रसाद अधिकारी लगायतलाई दोषी ठहर गरे पनि आयोगले माग दाबी गरे अनुसार सबैलाई सजाय नभएको र बिगो बमोजिम कारबाही नभएको अख्तियारको भनाइ छ। यस पुनरावेदनले वाइडबडी खरिद प्रकरणलाई पुनः चर्चामा ल्याएको छ ।

















