१६ मंसिर,काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचन प्रक्रिया मङ्सिर २१ गतेदेखि सुरु हुने भएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूले मङ्सिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्नेछन्।
प्राप्त भएका निवेदनको अध्ययन गरेर मङ्सिर २६ गतेसम्म स्वीकृत गरिने छ। त्यसैगरी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य तय गरिएको छ भने प्रारम्भिक सूची माघ ४ गते सार्वजनिक गरिने प्रवक्ता भट्टराईले जानकारी दिए।
उक्त प्रारम्भिक सूचीमाथि दाबी, विरोध र उजुरीको छानबिनपछि माघ २० गते अन्तिम बन्दसूची प्रकाशन गरिनेछ।
विद्यमान कानुनअनुसार प्रतिनिधिसभाका २७५ सदस्य दुई विधिबाट चयन गरिनेछन्। प्रत्यक्ष निर्वाचनमार्फत १६५ सदस्य र बाँकी ११० सदस्य समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत मनोनित गरिने कानूनी व्यवस्था छ। प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन आगामी माघ ६ गतेबाट सुरु हुने कार्यतालिका तय गरिएको छ।

















