१६ मंसिर,काठमाडौं । सरकारले नागरिक बचाउ महाअभियानका नेता दुर्गा प्रसाईंलाई औपचारिक पत्र पठाएर मंसिर २२ गते वार्तामा आउन आग्रह गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रसाईंलाई पठाएको पत्रमा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको हस्ताक्षर रहेको छ।
प्रसाईंलाई पठाइएको पत्र उनी नेतृत्वको नागरिक बचाउ महाअभियानका अर्थ तथा ऋणी एसोसिएसन प्रमुख देवीप्रसाद संग्रौलाले बुझिसकेका छन्। प्रसाईं हाल भारतको नयाँ दिल्लीमा रहेको उनीनिकट स्रोतले जानकारी दिएका छन्। दुई दिनअघि नयाँ दिल्ली पुगेका प्रसाईं केही राजनीतिक भेटघाटको प्रयासमा रहेको बताइएको छ। उनका अनुसार उनी बुधबार नेपाल फर्किनेछन्।
यसअघि १२ मंसिरमा प्रसाईंले सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए। सो भेटमा उनले वर्तमान व्यवस्थाको खारेजसमेत माग गर्दै २७ बुँदे माग प्रस्तुत गरेका थिए। गृहमन्त्री अर्यालका अनुसार कतिपय माग संविधानसँग बाझिने खालका जटिल प्रकृतिका भएकाले प्रधानमन्त्रीकै तहमा छलफल आवश्यक रहेको थियो।
वार्ता सहजीकरण अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवन न्यौपानेले गर्ने भएका छन्।

















