१७ मंसिर, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन् ।
सर्वोच्च अदालतबाट २४ घण्टाभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने परमादेश आएपछि उनी निर्धारित समयमै सदनमा उपस्थित हुँदैछन् ।
मुख्यमन्त्री यादवले मंगलबार पत्रकार सम्मेलनमार्फत विश्वासको मत लिने मिति सार्वजनिक गर्दै प्रदेशसभा सचिवालयमा औपचारिक पत्रसमेत पठाइसकेको जानकारी दिएका थिए । उनका अनुसार विश्वासको मतका लागि प्रदेशसभा बैठक आज बिहान साढे ८ बजे बस्नेछ ।
मंगलबार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट पत्र प्राप्त भएको भन्दै उनले संवैधानिक दायित्वअनुसार आजकै दिन मतका लागि सदनमा जाने बताएका थिए । तर प्रक्रिया मिलाउन प्रदेशसभा सचिवालयले बैठक बिहानको समयका लागि तोकेको छ।
अदालतको आदेशपछि राजनीतिक रूपमा चुनौतीपूर्ण अवस्थामार्फत अघि बढिरहेका मुख्यमन्त्री यादवका लागि आजको विश्वासको मत सरकारको भविष्य तय गर्ने निर्णायक मोड मानिएको छ।

















