Logo

१७ मंसिर, काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज (बुधबार) विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल अपराह्न ४ बजे सुरु हुनेछ।

दुवै टिमका लागि आजको खेल महत्वपूर्ण मानिएको छ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सले यसअघिका पाँच खेलमध्ये चारमा विजय हासिल गर्दै ८ अंक जोडेर शीर्ष स्थानमा बलियो चुनौती पेस गरेको छ। उत्कृष्ट लयमा देखिएको विराटनगर प्लेअफको दाबेदार बनेको छ।

उता, रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स दबाबको अवस्थामा छ। पाँच खेलमा एक मात्र जित निकाल्न सकेको लुम्बिनीले जम्मा २ अंक बटुलेको छ। प्लेअफमा पुग्ने सम्भावना जीवित राख्न लायन्सलाई आजको खेल हर हालतमा जित्नैपर्ने संकेत छ।

बल्लेवाज र बलर दुवै विभागमा स्थिरता खोजिरहेको लुम्बिनीका लागि विराटनगरजस्तो सशक्त टोलीविरुद्धको आजको खेल टर्निङ प्वाइन्ट सावित हुनेछ। विराटनगर भने जितसँगै शीर्ष स्थान सुरक्षित गर्दै प्लेअफ टिकट पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ।

दोस्रो संस्करणको प्रतिस्पर्धा उत्कर्षतिर अघि बढिरहेको अवस्थामा आजको खेलले अंकतालिकामा महत्वपूर्ण मोड ल्याउने निश्चित छ ।


सम्बन्धित समाचार