Logo

१७ मंसिर, रौतहट। रौतहट जिल्लामा प्रहरीले ठूलो मात्रामा नक्कली नेपाली नोट बरामद गर्दै तीनजनालाई पक्राउ गरेको छ। जिल्लाको ईशनाथ नगरपालिका–४ लत्मरी टोलबाट नक्कली नोटसहित पक्राउ परेका व्यक्तिहरू सीमावर्ती क्षेत्र हुँदै नक्कली रुपैयाँ भित्र्याउँदै गरेको आशंका छ।

मंगलबार अपराह्न करिब ४ बजेर ३० मिनेट जाँदा मठिया महुलिया प्रहरी चौकी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट मठियाबाट खटिएको संयुक्त टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको बीआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकललाई जाँचका लागि रोक्न खोजेको थियो। तर, सवारी रोकिन नमान्दै तीनै युवक खेततर्फ भाग्ने प्रयास गरे ।

भाग्ने क्रममा उनीहरूले साथमा बोकेको नेपाली एक हजारका १ सय १८ थान जाली नोट फाले पनि प्रहरीले तत्कालै पछ्याउँदै तीनै जनालाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनास्थलमै जाली नोट र प्रयुक्त मोटरसाइकल बरामद गरी सुरक्षित राखिएको छ।

पक्राउ पर्नेहरू देवाही गुनाही नगरपालिका–४ का २० वर्षीय अजय पटेल, सोही स्थानका २१ वर्षीय गेनालाल पटेल तथा भारत, बिहारस्थित मोतिहारी पूर्वी चम्पारण–२ कुडवा चैनपुरका २३ वर्षीय जयप्रकाश कुमार रहेका छन्।

उनीहरूलाई प्रारम्भिक बयानका लागि प्रहरी चौकी मठिया महुलियामा राखिएको छ। प्रहरीले घटनास्थलबाट तीनवटा मोबाइल फोनसमेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी प्रदीप विष्णु बस्यालका अनुसार नक्कली नोट भारतबाट ल्याएर नेपाली बजारमा आपूर्ति गर्ने उद्देश्य रहेको प्रारम्भिक अनुमान गरिएको छ। पक्राउ परेकाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए।

सीमावर्ती क्षेत्रमा नक्कली नोटको अवैध कारोबार बढ्दै गएपछि प्रहरी प्रशासनले निगरानीलाई थप कडा बनाईएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार