Logo

१७ मंसिर, काठमाडौँ । ऊर्जा क्षेत्रका अभियन्ता तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ आज (बुधबार) औपचारिक घोषणा हुँदै छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो १ बजे घोषणा सभा आयोजना गरिएको पार्टीले जानकारी दिएको छ।

घोषणा कार्यक्रममा संरक्षक घिसिङसहित शीर्ष नेतृत्वको उपस्थिति रहनेछ। पार्टीका नेता डा. तारा जोशीका अनुसार आजकै कार्यक्रममार्फत पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र ‘घोषणापत्र २०८२’ आधिकारिक रूपमा सार्वजनिक हुनेछ।

पार्टीले आफ्नो मुख्य नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ निर्धारण गरेको छ। यो नाराले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एकीकृत राष्ट्रिय लक्ष्यका रूपमा प्रस्तुत गर्ने दाबी पार्टीले गरेको छ।

जेनजी (Gen Z) आन्दोलनपछि विकसित भइरहेको नयाँ राजनीतिक स्वरूपलाई आत्मसात् गर्दै ‘उज्यालो नेपाल’ पार्टी दर्ता गरिएको नेता जोशीले बताए।
निर्वाचन आयोगमा अनुपराज उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय समिति नाममा दल दर्ता भइसकेको छ।

पार्टीले आफूलाई वैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने उद्देश्य राखेको छ। यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका मेयर बालेन शाह, रेसम चौधरीको संरक्षकत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी सहितका शक्तिसँग सहकार्य गर्दै अघि बढ्ने योजना रहेको उल्लेख गरिएको छ।

घोषणा सभापछि ‘उज्यालो नेपाल’ले संगठन विस्तार, नीति प्रबर्द्धन र आगामी निर्वाचनका लागि रणनीतिक तयारीलाई तीव्रता दिने जनाएको छ।

ऊर्जा क्षेत्रमा उल्लेखनीय सुधारसहित जनस्तरमा लोकप्रिय मानिएका कुलमान घिसिङ संरक्षक भएर अघि आउनुले पार्टीप्रतिको सार्वजनिक चासो उच्च बनेको देखिन्छ।

आजको औपचारिक घोषणापछि उज्यालो नेपाल पार्टी नेपाली राजनीतिक परिदृश्यमा नयाँ विकल्पका रूपमा प्रवेश गर्नेछ।


सम्बन्धित समाचार