Logo

१७ मंसिर, जनकपुर । सर्वोच्च अदालतको परमादेशपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्।

सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएपछि मुख्यमन्त्री यादवले बिहान साढे ८ बजे प्रदेशसभा बैठक आह्वान गरी मत परीक्षणका तयारी पूरा गरिसकेका छन्।

यादवको सरकार अल्पमतमा पुगेपछि उनको पक्षमा पर्याप्त समर्थन जुट्ने सम्भावना न्यून देखिएको छ। राजनीतिक वातावरणले नयाँ सत्ता समीकरण बन्ने संकेत दिँदै गर्दा प्रदेशमा वैकल्पिक सरकार गठनका लागि दलहरूबीच तीव्र कूटनीति चलिरहेको छ।

एमालेविरुद्ध एक भएका सात दलीय गठबन्धनभित्र नेतृत्व टुंगोमा भने गम्भीर विवाद देखिएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउनुपर्ने अडान कडा बनाउँदै आएको छ। लोसपाका संसदीय दलका नेता जयनुल राइनका अनुसार गठबन्धनले पहिल्यै सोनललाई अगाडि सार्ने सहमति गरिसकेको दाबी भए पनि अन्य दलहरू त्यसमा सहमत छैनन्।

नेपाली कांग्रेस भने पार्टीका संसदीय दलका नेता कृष्णा यादवलाई मुख्यमन्त्रीमा उठाउनुपर्ने आग्रहमा अडिग छ। कांग्रेसको प्रस्तावलाई जसपा नेपालले पनि साथ दिने संकेत दिएको एक प्रदेशसभा सदस्यले जानकारी दिए। स्रोतका अनुसार जसपा नेपालले सभामुखको पद पाउने सर्तमा कांग्रेसलाई सहयोग गर्न तयार भएको छ।

गठबन्धनका दलहरूले आ–आफ्नो दाबी सशक्त रूपमा पेस गरिरहे पनि अन्तिममा सहमतिपूर्वक मुख्यमन्त्री उमेदवार चयन गर्ने प्रयत्न जारी छ। मधेशमा स्थिरता र नयाँ सरकार गठनका लागि आजको विश्वासको मत निर्णायक बन्ने अनुमान गरिएको छ।

मुख्यमन्त्री यादव विश्वासको मत प्राप्त गर्छन् वा सरकार ढल्छ, यसले मधेश प्रदेशको आगामी राजनीतिक दिशालाई निर्णायक रूपले मोड दिने देखिन्छ।


सम्बन्धित समाचार