१७ मंसिर,काठमाडौं । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनमा ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ चिह्न लिएर सहभागी हुने भएको छ। पार्टीले निर्वाचन आयोगमा आवेदन पुनरावलोकन गरी मंसिर १६ गते नयाँ चिह्न दर्ता गराएको आयोगले जानकारी दिएको छ।
यसअघि उक्त पार्टीले कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीसँग सहकार्य गर्दै ‘बलेको चिम’ निर्वाचन चिह्नबाट संयुक्त रूपमा चुनाव लड्ने सहमति गरेको थियो। मंसिर १० गते भएको सहमतिअनुसार उज्यालो नेपाल पार्टीको चिह्न प्रयोग गर्ने तयारी भए पनि कानुनी जटिलता देखिएपछि दुवैबीचको सहमति टुटेको हो।
सहमति भंग भएसँगै सुनार नेतृत्वको पार्टीले आफ्नै छुट्टै चिह्न लिएर चुनावमा जाने निर्णय गरेको हो। आयोगका अनुसार कानुनी अस्पष्टताका कारण पुरानो समझदारी कार्यान्वयन गर्न कठिन हुने भएकाले पार्टीले नयाँ चिह्न दर्ता गराउन पुनः आवेदन दिएको थियो।
नयाँ चिह्नसहित निर्वाचनमा सहभागी हुने निर्णयपछि पार्टीले आगामी चुनावी तयारी तीव्र बनाएको जनाएको छ।

















