१७ मंसिर, काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा धनकुटा र ओखलढुंगा जिल्ला मा भएको निर्वाचनलाई पार्टीको केन्द्रीय कमिटीले बदर गरिदिएको छ ।
दुवै जिल्लाको निर्वाचनमा धाँधली भएको र एकलौटी परिणाम निकालिएको भन्दै केन्द्रमा उजुरी परेपछि यो निर्णय आएको हो। केन्द्रले यी दुई जिल्लालाई पाँच दिनभित्र पुनः प्रतिनिधि छनोटको निर्वाचन गर्न निर्देशन दिएको छ । ओखलढुंगा मा संस्थापन इतर पक्षले सदरमुकाममा मात्र मतदान गराएर एकलौटी परिणाम घोषणा गरेको आरोप छ भने, धनकुटा मा संस्थापन पक्षले एकलौटी रूपमा मतदान गराएको थियो ।
धनकुटामा सहमतिबाट प्रतिनिधि छनोट गर्ने प्रयासस्वरूप संस्थापन पक्षले ९ र इतर पक्षलाई ४ जना प्रतिनिधि दिने प्रस्ताव गरिए पनि इतर पक्ष तयार नभएपछि जिल्ला अध्यक्ष राजेन्द्र राईले एकतर्फी निर्वाचन गराएका थिए । यस निर्वाचन प्रक्रियाको प्रदेश सांसद इन्द्रमणि पराजुलीसहितको समूहले विरोध गर्दै केही स्थानमा मतपत्र च्यातिएको थियो ।
केन्द्रले धनकुटाको विवाद समाधानका लागि प्रदेश इन्चार्ज शेरधन राई र जिल्ला अध्यक्ष राजेन्द्र राई लाई जिम्मा दिएको छ। तर, स्रोतका अनुसार यी दुई नेताबीचको व्यक्तिगत सम्बन्ध राम्रो नभएकाले विवाद कसरी समाधान हुन्छ भन्नेमा अन्योल छ । उता, ओखलढुंगाको प्रतिनिधि छनोटलाई सहजीकरण गर्ने जिम्मा शेरधन राईसहित विशाल भट्टराई, यज्ञराज सुनार र किशोर अधिकारी ले पाएका छन् । धनकुटाबाट १३ र ओखलढुंगाबाट १२ जना प्रतिनिधि छानिएका थिए, जुन अब पुनः छनोट गरिनेछ ।

















