Logo

१७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतको आदेशबमोजिम विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा घोषणा गरेका छन् ।

सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिनका लागि परमादेश जारी गरेपछि आज प्रदेशसभाको बैठक बोलाइएको थियो । बिहान बोलाइएको बैठक सत्तापक्षकै सांसदहरूको अनुपस्थितिका कारण दिउँसो २ बजेलाई सारिएको थियो, तर पनि विश्वासको मत नपाउने निश्चित भएपछि उनले सदनलाई सम्बोधन गर्दै पद त्यागको घोषणा गरे।

मुख्यमन्त्री यादव गत कात्तिक २३ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। उनको यो नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशका सात दलका सांसदहरू सर्वोच्च अदालत पुगेका थिए, जसको सुनुवाइपछि सर्वोच्चले विश्वासको मत लिन परमादेश दिएको थियो। विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था आएपछि राजीनामाको यो निर्णयले मधेश प्रदेशमा फेरि राजनीतिक अस्थिरता सिर्जना गरेको छ।


सम्बन्धित समाचार