Logo

१७ मंसिर,वीरगञ्ज । ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सहभागितामूलक समाज निर्माणको संदेश दिन वीरगन्जमा भव्य र्‍याली तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

आईज नेपालले आयोजना गरेको कार्यक्रममा विभिन्न विद्यालय, सामाजिक संस्था र समुदायका प्रतिनिधिहरू सक्रिय सहभागि बनेका थिए। कार्यक्रमको अध्यक्षता आईज नेपालका अध्यक्ष महेश साहले गरेका थिए।

बिहानैदेखि सुरु भएको र्‍यालीमा वीरगन्जका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, नागरिक समाजका प्रतिनिधि तथा संघ–संस्थाका पदाधिकारीहरू सहभागी भएका थिए। र्‍यालीले शहरका प्रमुख मार्गहरू परिक्रमा गर्दै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँचयुक्त संरचना र समान अवसरको महत्वबारे जनचेतना फैलायो।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईले भने, “समावेशीता केवल नीति र कागजमा सीमित हुनु हुँदैन। अपाङ्गता भएका व्यक्तिलाई शिक्षा, सीप, रोजगार, स्वास्थ्य र यातायातमा सहजता प्रदान गर्न सबै निकाय सक्रिय हुनुपर्छ। समाजको सकारात्मक सोच नै वास्तविक परिवर्तनको आधार हो।”

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख सिडियो भोला दहालले अपाङ्गता भएका व्यक्तिलाई राज्यका प्राथमिकता प्राप्त नागरिकका रूपमा हेरि आवश्यक सेवा–सुविधा सरल र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सार्वजनिक संरचनामा पहुँचयुक्त सुविधा विस्तार, रोजगारी अवसर अभिवृद्धि र स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकतामा राखिने बताए।


सम्बन्धित समाचार