१७ मंसिर,वीरगञ्ज ।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ को आयोजनामा एम.इ.एस. सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीलाई लक्षित गरी बाल–विवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम शुक्रबार सफलतापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रमको अध्यक्षता सेवा केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराईले गरेका थिए। स्कुलका निर्देशक सामुदिन अहमदको विशेष उपस्थितिमा, प्रमुख अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एखनाथ भट्टराई सहभागी भएका थिए।
प्रहरी निरीक्षक भट्टराईले बाल–विवाहलाई कानुनी रूपमा दण्डनीय अपराध र सामाजिक विकृति दुवैको रूपमा परिभाषित गर्दै विद्यार्थीसहित अभिभावकलाई सचेत रहन आग्रह गरे। उनले भने,
“बाल–विवाह केवल कानुनी मुद्दा होइन, जीवनभर असर पार्ने गम्भीर सामाजिक समस्या हो। शिक्षा, जनचेतना र परिवारको सही मार्गदर्शनले मात्र यसलाई अन्त्य गर्न सकिन्छ। प्रहरी समाजसँग साझेदारी गर्दै यसको नियन्त्रणमा निरन्तर सक्रिय छ।”
उनले कम उमेरमै विवाह हुँदा स्वास्थ्य, पढाइ, मानसिक अवस्था र भविष्यमा गम्भीर समस्या उत्पन्न हुने उल्लेख गरे। “हामी सबै सचेत बनौं, र अरूलाई पनि सचेत गराऔं,” भट्टराईले विद्यार्थीलाई सन्देश दिए।
कार्यक्रममा सेवा केन्द्रका पदाधिकारी, विद्यालयका शिक्षक–शिक्षिका, प्रहरी कर्मचारी तथा कक्षा १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो क्रममा बाल–विवाहका जोखिम, सम्बन्धित कानुनी प्रावधान, रोकथामका उपाय तथा अभिभावक र विद्यार्थीको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

















