Logo

१८ मंसिर, काठमाडौं । मधेश प्रदेश यतिबेला गहिरो राजनीतिक अस्थिरताको चपेटामा परेको छ, जसको पराकाष्ठा ५१ दिनको छोटो अवधिमा तीन जना मुख्यमन्त्रीले राजीनामा दिनुले देखाउँछ  ।

पछिल्लो पटक मुख्यमन्त्री बनेका सरोजकुमार यादवले सर्वोच्च अदालतको परमादेशले विश्वासको मत लिनुपर्ने बाध्यता आइलागेपछि २२ औँ दिनमै पद त्यागेका छन् । उनले मन्त्रिपरिषद् विस्तार गर्न समेत भ्याएनन्  । यादवअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मुख्यमन्त्री बनेका जितेन्द्र प्रसाद सोनल (यादव) ले पनि आफ्नै गठबन्धनका सांसदहरूको असहयोगका कारण कार्तिक २२ गते विश्वासको मत लिनुअघि नै राजीनामा दिएका थिए । त्यसभन्दा अघिका मुख्यमन्त्री जनमत पार्टीका सतिश कुमार सिंहको कार्यकाल पनि लामो टिक्न सकेन  ।

जेठ २५ गते मुख्यमन्त्री बनेका उनले सामाजिक सञ्जालबाट दिएको राजीनामाबाट पछि हटेपछि सत्तारूढ दलकै असहयोगका कारण असोज २८ गते राजीनामा दिन बाध्य भए । जेठ २३ मा जसपाका सरोजकुमार यादवले विश्वासको मत गुमाएपछि शुरू भएको यो शृङ्खला, जसमा प्रदेश प्रमुखको बर्खास्ती र सभामुख हटाउनेसम्मका घटनाक्रम जोडिए, ले मधेशको राजनीतिलाई चरम अन्योलतर्फ धकेलेको छ।

लगातारको यो अस्थिरतापछि अब प्रदेश प्रमुख सुरेन्द्र लाभले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।


सम्बन्धित समाचार