Logo

१८ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई व्यवस्थित र भव्य बनाउनका लागि १० हजार स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ ।

स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटनको खुल्ला सत्रमा उल्लेख्य जनसहभागिता रहने अनुमान गरिएकाले ठूलो संख्यामा स्वयंसेवक खटाइने भएको हो । यी स्वयंसेवकहरू पार्टीका २४ वटा जनसंगठन र विभिन्न कमिटीहरूबाट जुटाइनेछन्, जसको समन्वय हालै गठन गरिएको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ) ले गर्नेछ ।

उद्घाटन समारोहको मञ्च व्यवस्थापन, शौचालय तथा अन्य आवश्यक पूर्वाधार निर्माणका लागि अहिले नै स्वयंसेवक परिचालन भइसकेका छन् । उद्घाटन सत्रका लागि पूर्वबाट आउने सवारीसाधनलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको एमालेले जनाएको छ । महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म चल्नेछ, जसको बन्दसत्रका लागि भने करिब ५०० स्वयंसेवक काठमाडौंको भृकुटीमण्डपमा खटाइनेछ ।


सम्बन्धित समाचार